Literature
डर
कतै गल्ती हुने डर
कतै गन्ती नहुने डर
कोलाहल भिडमै हराइने डर
लक्ष्यमा दृढ नै नकहलाइने डर ।
अरुलाइ ठेस पुग्ने डर
यसै केश फुल्ने डर
परिवारको आशा मेटिने डर
परिस्थितिले आफ्नै घाँटि रेटिने डर ।
आमाको खुशी बन्न नसकिने डर
बाबुको सुखि साहरा भन्न नसकिने डर
आफ्नाको डर
अर्काको डर ।
केहि भन्दा साथीभाइको चित्त दुख्ने डर
अनायास हितैषी मित्र छुट्ने डर
समाजले सेकेर केहि भन्ने डर
हुनेले देखेर सेखि गर्ने डर ।
आफु आफै सँग हार्ने डर
बाठा टाठाले जालमा पार्ने डर
नाम नकमाउने डर
ठगले अपनाउने डर ।
आफ्नो धन भस्म हुने डर
मन आफ्नै बसमा नहुने डर
सोच्दै डरलाग्दो अँध्यारो डर
निर्मल मनमा भिन्न भिन्न डर ।
सबैलाई गाँज्ने अभिन्न भयो डर
केवल मनको डर
केवल मनको डर ।।
कागजको डुङ्गा
मख्ख थियो कागजको डुङ्गा
कुलोको पानी सँगको संगममा,
सुस्तरी बिज्दै जान्छ पानी
डुङ्गाको आङ भरी !
अझै चञ्चल थियो डुङ्गा - नाच्दै, तैरँदै,
किनकी अज्ञात थियो उ
गल्दै गएको उस्को शरीर
टुक्रँदै-छुट्टँदै
प्रणाली, अङ्ग, तन्तु हुँदै कोशीका र अस्तित्व विहिन सम्म हुनेछ ।
पत्र-पत्र याद
म, म मात्र भएँ
तिमी, तिमी मात्र भयौ
तिम्रो अन्तस्करणमा गलत म भएँ
मेरो मगजमा हिस्सा तिमी भयौ ।।
तिमी वृक्षको एक हाँगा भयौ
पत्झर पात म भएँ
अनुभुतिका पत्र-पत्र याद भए ।।
छुट्टिए'पछि हाँगाका सम्झनामा म,
गल्दै गएँ ।
सड्दै गएँ । विलिन भएँ ।
तिमी नवीन पाउला फेर्नमै,
अस्त भयौ ।
व्यस्त भयौ । मस्त भयौ ।
म, म मात्र भएँ
तिमी, तिमी मात्र भयौ ।।
ओढारको चेपमा - प्रश्नवाचक
म ओढारको चेपमा उम्रीएको टुसा
म जन्मिएको कोखमा
थोरै माटो भएर के भो ?
मेरा यी कलिला जराले
मलिला माटोको सागरमा
डुबुल्की मार्ने सपना नदेख्लान् र !
म अनकन्टारमा भएर के भो ?
आकाशबाट तप-तप चुहिएका
बादलुको महरस पिउँदै, नझाङ्गिएको
मेरो शिरले सुर्यको स्पर्श खोज्न नलम्किएला र !
यो प्रश्न उसैलाई जसले मेरि आमालाई
यो अनकन्टार ओढारमा बिचल्लीत बनाइदियो ।
यो प्रश्न उसैलाई
जो मेरो अस्तित्व चाहँदैनथ्यो ।
म ओढारको अँध्यारो चेपमा उम्रीएको टुसा
के, मैले विशाल भिरलाइ उर्लिएको छहरेसँगै बग्नबाट बचाउन नसकुँला र !
के मैले बहुलाएको बर्खामा
तिम्रो घर बग्न बाट रोक्न नसकुँला र !
म ओढारको चेपमा उम्रीएको टुसा ।।
कस्तो ! कस्तो ! मधुरो
फिक्का ! फिक्का !
सितन बिनाको पेग जस्तो
तारा हराएको-मध्य रात जस्तो,
जिन्दगी त हिउँदैमा रमाउनु पर्ने रैछ
बर्खामा त पहिरो पनि भू-कम्प जस्तो,
कसैको प्रश्न - अहो रहरको धरहरा भाँचिए
की क्या हो तिम्रो !
- रहर बिनाको जिन्दगी त
फुलबिनाको बगैंचा जस्तो,
ता पनि कतै कतै जिन्दगी त
रङ्ग हराएको इन्द्रेणी जस्तो ।
कस्तो ! कस्तो ! मधुरो
फिक्का ! फिक्का !
सितन बिनाको पेग जस्तो ।